सिद्धगुफाभित्र बन्दीपुर गाउँपालिकाको कार्यपालिका बैठक

दमौली (तनहुँ) । तनहुँको बन्दीपुर गाउँपालिकाले दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिका बैठक राखेको छ । विश्व पर्यटन दिवसका अवसरमा गाउँपालिकाले बन्दीपुर–४ स्थित सिद्धगुफाभित्र कार्यपालिका बैठक गरिएको हो ।
सिद्धगुफाको प्रचारप्रसार र पर्यटन दिवसका अवसर पारेर गुफाभित्रै बैठक बसेर विभिन्न निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘आज पर्यटन दिवस रहेकाले कार्यालयमा भन्दा सिद्धगुफा बैठक बसेर पर्यटन प्रबर्द्धनका लागि गाउँपालिका सधैं प्रतिबद्ध रहेको छ भन्ने सन्देश दिन खोजेका हौँ ।’ उक्त बैठकले आगामी माघ १९ गते सिद्धगुफा महोत्सव आयोजना गर्ने निर्णय गरेको छ ।
पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुद्री सतहबाट छ सय मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्दछ । विसं २०४४ साल चैत १३ गते स्थानीयवासी चन्द्रबहादुर सम्लिीङ थापा मगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँच जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो ।
पुरातत्वविदका अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्रागकालीन मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्विक महत्वको यस गुफालाई अन्दाजी तीन हजार पाँच सय वर्ष पुरानो मानिएको छ । सुरुमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचीन वस्तु अक्षर मेटिएको तामाको पैसा, पानीको घैंटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा, र टेराकोटाको शुल्पा र सानो थाल जस्तो आदि इस १६ र १७औँ शताब्दी अघिको अनुमान गरिएको छ ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

बागलुङका गाउँ–गाउँमा किबी खेतीको लहर

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग

सिक्लेसमा बढ्दो पर्यटक आगमनसँगै व्यवस्थापनको चिन्ता

शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो

विदेशबाट फर्केर सामूहिक माछापालन

प्रतिक्रिया