बागलुङपानी–भुजुङ सडक स्तरोन्नति हुँदै

लमजुङ । लमजुङको बेँशीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडकखण्डमा स्तरोन्नतिका काम सुरू भएका छन् । 

यस सडकअन्तर्गत  क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ३ घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म स्तरोन्नतिका काम भइरहेका पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । 

कार्यालय प्रमुख इञ्जीनीयर विवेक सिग्देलले सडकअन्तर्गत घलेगाउँसम्म १० किलोमिटरमा कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटरमा ग्राभेल गर्ने काम भइरहेका जानकारी दिए ।

ठेकेदारको लापरबाहीका कारण वर्षौदेखि अलपत्र रहेको सो सडकमा गत माघ महिनादेखि काम अगाडि बढेको र हाल कालोपत्रलगायतका काम भइरहेका उनको भनाइ छ । 

कार्यालयका अनुसार घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडक ग्राभेल गर्ने गरी कान्छाराम–नाना जेभीले विसं २०७६ असोज ३० गते सम्झौता भएको थियो । विसंं २०७८ असोज २९ गतेभित्र सम्पन्न गर्ने भनिए पनि विभिन्न कारणले सोसम्बन्धी कार्य अधुरै थिए ।   

अन्तिमपटकका लागि विसं. २०८० चैत २२ गते पुनः म्याद थप भई  आगामी असोजसम्म कार्यसम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इञ्जिनियर सिग्देलले बताए ।

उक्त सडक कालोपत्रे तथा ग्राभेलका लागि रु ३४ करोड ७७ लाख १४ हजार चार सय १० मा सम्झौता भएको सो योजनामा हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको र रु बीस करोड ४० लाख खर्च भइसकेको सिग्देलले जानकारी दिए ।

क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पटक पटकको प्रयासपछि सडकको काम सुरू भएको र सडक निर्माणपछि घलेगाउँ तथा भुजुङमा सञ्चालित घरबासमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भई आर्थिक क्रियाकलापमा समेत बढोत्तरी हुने अपेक्षा गरिएको बताए ।