पोखरा – ९ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

पोखरा, ४ जेठ । पोखरा १५ स्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा ९ मा शनिवार यौन तथा प्रजनन् स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ ।

नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोग, पोखरा ९ स्थित चण्डिका आमा समूहको व्यवस्थापन र पोखरा महानगरपालिका वडा नं ९ कार्यलयको समन्वयमा कार्यक्रम गरिएको हो । शिविरबाट ६८ जना लाभान्वित हुनुभएको छ ।

शिविर उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले यस्ता कार्यक्रमले स्थानीय सरकारलाई सहयोग हुने उल्लेख गर्नुभयो ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले संघले सरकार, संघसंस्था र समुदायसँग सहकार्य गर्न चाहेको बताउनुभयो ।

कार्यक्रममा संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वरिष्ठ व्यवस्थापक बृहस्पती अधिकारी, टोल विकास संस्था वडा समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी लगायतले बोल्नुभएको थियो ।

संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नव राज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा चण्डिका आमा समूहकी अध्यक्ष सीता नेपालीले स्वागत र संगम बचत तथा ऋण सहकारीकी संचालक विष्णुमाया थापाले कार्यक्रम संचालन गर्नुभएको थियो ।