फिल्ममा स्क्रिप्ट डाक्टरको प्रयोग

काठमाडौँ । फिल्म राम्रो बन्न कथासँगै पटकथा पनि सशक्त हुनुपर्छ । नेपाली फिल्ममा उठान गरिएका विषयवस्तुले प्रशंसा पाए पनि पटकथामा भने समस्या देखिने गरेको धेरैको टिप्पणी सुनिन्छ । यही समस्या समाधानका लागि पछिल्लो समय फिल्ममा ‘स्क्रिप्ट डाक्टर’ को प्रयोग बढेको पाइन्छ । पटकथामा देखिएका समस्या, त्यसको सम्भावित समाधान औँल्याउने काम स्क्रिप्ट डाक्टरले गर्छन् ।
‘टलकजङ्ग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’ जस्ता मौलिक कथा लेखेका लेखक तथा अभिनेता खगेन्द्र लामिछाने प्रायः आफैँ लिखित फिल्ममै अभिनय गर्थे । तर पछिल्लो समय उनले अन्य लेखकद्वारा सिर्जित पात्रमा समेत काम गर्नुका साथै पटकथा लेखनमा सहयोग पनि लिन थालेका छन् । उनले लेखेको पछिल्लो फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ मा स्क्रिप्ट डाक्टरका रुपमा निर्देशक मनोज पण्डितलाई राखे । लेखकका रुपमा यो निकै सहयोगी रहेको अनुभव गरेको उनले बताए ।
‘हामीले कथा लेखनका क्रम गरिरहेका गल्ती औँल्याउने भएकाले मलाई निकै उपयोगी रह्यो । म लेखक रुपमा स्थापित भए पनि उहाँको सहयोगले पटकथालाई राम्रो बनाउने मौका पाएँ’, अभिनेता लामिछानेले भने ।
नेपाली फिल्म ‘लूट’ मार्फत प्रस्तुतीकरण, कथ्य शैली र पात्र आवरणमा भिन्नता ल्याउन सफल निर्देशक निश्चल बस्नेत लेखक पनि छन् । उनले लेखनका क्रममा कमजोरी छुट्याउन सहज नहुने बताए ।
‘मैले लूट शृङ्खला आफैँले लेखे । पहिलो शृङ्खलामार्फत निर्देशनमा स्थापित भएँ । तर दोस्रोमा पटकथाभन्दा चरित्रलाई प्राथमिकतामा राखे । कही कतै चरित्रमा स्टारडम (लोकप्रियता) हाबी भयो’, निर्देशक बस्नेतले भने, ‘मैले नयाँ फिल्म दिमाग खराबमा अरुकै लेखनमा काम गरेँ । निर्देशक भएकाले लेखनमा मेरो सहभागिता थियो । त्यसमा स्क्रिप्ट डाक्टर जोडिनुभएपछि समस्या र त्यसको समाधान पनि बुझ्न पायौँ ।’
उनले पटकथामा उचित सल्लाह दिएर समाधान निकाल्न सके फिल्म पर्दामा आएर उब्जिने प्रश्नहरू लेखनकै क्रममा समाधान हुने बताए ।
‘जात्रा’ र ‘जात्रै जात्रा’ निर्देशन गरेर स्थापित भएका निर्देशक प्रदीप भट्टराईले लेखक र निर्देशक एउटै व्यक्ति हुँदा छायाङ्कनका क्रममा सहज हुने भए तापनि त्यस अगाडि लेखनकै क्रम रचनात्मक सुझाव उपयोगी हुने बताए ।
उनले भने, ‘आफैँले लेखेको कथामा पात्रसँग बढी नजिकिनु स्वाभाविक हो । छायाङ्कनमा समस्या देखिए परिवर्तन गर्न सकिन्छ । यद्यपि लेखनका क्रममा हामी विषयभन्दा बाहिर गइरहेका हुन्छौँ । त्यही कारणले कथा राम्रो भए तापनि पटकथामा समस्या देखिने गर्छ ।’ उनले पटकथा लेखनमा मेहनत आवश्यक रहेको बताए ।
लेखनका क्रम सहयोगी हुने अनुभवकै कारण नेपाली फिल्ममा ‘स्क्रिप्ट डाक्टर’ को प्रयोग बढ्न थालेको छ । केही निर्देशकले आफ्नो भरपर्दो निर्देशक वा लेखकलाई पटकथा दिएर सुझाव लिने गरेका छन् । तर, आफ्नो कार्यकौशलतामा प्रश्न उठ्ने डरले त्यो सार्वजनिक गरिँदैन ।
यद्यपि पछिल्लो समय ‘स्क्रिप्ट डाक्टर’को प्रयोग बढेसँगै रचनात्मक सुझावका लागि निर्देशक र लेखक खुलेर सल्लाह गर्न थालेका छन् ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

बागलुङका गाउँ–गाउँमा किबी खेतीको लहर

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग

सिक्लेसमा बढ्दो पर्यटक आगमनसँगै व्यवस्थापनको चिन्ता

शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो

विदेशबाट फर्केर सामूहिक माछापालन

प्रतिक्रिया