संस्कृति संरक्षण गर्न तनहुँमा कौरा प्रतियोगिता

दमौली (तनहुँ) । नयाँ वर्ष २०८१ को अवसरमा तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा मौलिक खुला कौरा प्रतियोगिता हुने भएको छ । मिछुर्लुङ पर्यटन विकास समितिको आयोजनामा आगामी वैशाख १ गते मौलिक कौरा प्रतियोगिता हुन लागेको हो । 

मगर समुदायको लोकप्रिय मौलिक नाच कौराको संरक्षण गरी गाउँ पर्यटन प्रवद्र्धन गर्ने र पर्यटन गतिविधिबाट स्थानीयको आयआर्जन वृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार पुरस्कार प्राप्त गर्नेछ । समूहमा घटीमा १५ र बढीमा २० जना हुनुपर्ने उनले बताए ।

कार्यक्रममा लोकदोहोरी गायक राजु परियार र गायिका शिला आलेको सांस्कृतिक कार्यक्रम समावेश गरिएको प्रतियोगिताका सहसंयोजक हर्कबहादुर रानाले जानकारी दिए । मगर लाफा भिलेजका साथै मिछुर्लुङ साँस्कृतिक समूहको सहआयोजनामा हुने उक्त प्रतियोगितामा १५ समूहको सहभागिता रहने छ । मगर समुदायको कौरा, झ्याउरे र अर्गानिक परिकार मिछुर्लुङको विशेषता हो ।