घर ज्वाइँको क्यारेक्टर लुक्स

काठमाडौं । मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ को क्यारेक्टर लुक्स आइतबार सार्वजनिक गरिएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको फिल्मका दुई डिजाइनका लुक्समध्ये एउटामा अभिनेता दयाहाङ राई बन्दुक बोकेर रिसाहा अवतारमा प्रस्तुत भएका छ्न भने अर्कोमा उनी डोकोहरु बोकेर अभिनेत्री मिरुना मगरको पछि हिडिरहेका छन् । 

क्यारेक्टर लुक्सबाट फिल्मको थीम अनुमान लगाउन मद्दत मिलेको छ । पूर्वी रुकुम आसपासमा करिब एक महिना छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा,संवादमा भने उनले बिनोद खतिवडा र सुभाष कोइरालाको साथ पाएका छन् ।

जिएम मुभीजको ब्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिको छायांकन छ । फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द, संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएम अष्ट्रेलियाले अन्तरास्ट्रिय प्रदर्शन अधिकार लिइसकेको छ । फिल्मलाई नेपाल बितरण आर आर फिल्मसले गर्दैछ ।

असार २८ गते प्रदर्शन हुने फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छ्न ।