‘कोरोनामा विदेश बस्दा द रेड सुटकेशको कथा फुर्‍याे’

काठमाडौं । नेपाली फिल्म ‘द रेड सुटकेस’ नयाँ वर्ष २०८१ को अवसरमा पारेर यही ३० चैतमा रिलिज हुँदैछ । यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । जर्मनीबाट फिल्ममा विधावारिधी गरेका फिडेलको यो डेब्यु फिचर फिल्म निर्देशन हो ।

करिब डेढ दशकदेखि उनी जर्मनीमा बस्दै आएका छन् । तथापि नेपाली समाजको अध्ययन अनुसन्धान गर्न र परिवारलाई भेट्न उनी हरेक वर्ष नेपाल आउँछन् । केही महिना यहाँ बसेर उनी फेरी विदेशिने गर्छन । यसरी नेपाल र बिदेश आवजजावतका क्रममा यात्रामा यी निर्देशकले धेरैलाई भेटे । उनीहरुको कथा सुने । नेपाल आएर यहाँको समाजबारे अनुसन्धान गर्ने क्रममा नेपाली समाजलाई अझ राम्ररी बुझ्ने अवसर पाए । 

यसै क्रममा सन् २०१९ मा विश्वव्यापी रुपमा कोरोनाका महामारी फैलँदा उनी जर्मनीमै थिए । त्यतिबेला लामो समयसम्म कोठामा बस्नु पर्दा आफु त्यही कोठामा मरेँ भने आफ्नो शवको के हालत होला भन्ने कुरा उनले सोच्न थाले । यसरी कोरोनाकालमा कोठामा बसेर सोच्दा सोच्दै उनलाई फिल्म ‘द रेड सुटकेश’को कथा फुरेको रहेछ ।

यो फिल्मलाई उनी भुईं मान्छेहरुको वर्तमान दस्तावेज भन्छन् । फिल्म ‘द रेड सुटेकश’ नै निर्माण गर्नुको कारणबारे यी निर्देशकले भने,‘हाम्रा नेताहरु विदेशबाट कति रेमिट्यान्स भित्र्याउने भनेर विदेश गाएका युवा नेपालीहरुको टाउको मात्र गनेर बसिरहेका छन् । देशमा रोजगार नभएर विदेश जानु पर्ने ती युवाहरुको बाध्यताले नै यो फिल्मको कथा जन्माएको हो ।’ 

उनले भने,‘धेरै पटक विदेश यात्रा गर्दा मैले आफ्नो नामसमेत लेख्न नजान्ने नेपालीहरुलाई जहाजमा भेटें । यात्राको क्रममा उनीहरुको कथा सुन्दै जाँदा मलाई तीे कथाहरुलाई दृष्यमा उतार्नु पर्छ भन्ने लाग्यो र फिल्म द रेड सुटकेश नै तयार गरेँ ।’

यो फिल्ममा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ, प्रविण खतिवडालगायतको मुख्य भूमिका रहेको छ । फिल्मको नाम ‘द रेड सुटकेश’ राख्नुको कारण पनि त्यत्तिकै रोचक रहेछ । सुरुमा त फिडेलले यो फिल्मको नाम नेपालीमा राख्न चाहेका रहेछन् । तर रेड सुटकेशको नेपाली अर्थ रातो बाक्सो हुने भएकाले यो नाम फिल्मका लागि उपयुक्त नदेखेर रेड सुटकेश नै राखिएको पनि उनले प्रस्ट्याए ।  

यो फिल्मलाई सिन्धुली र काठमाडौंमा छायांकन गरिएको छ । फिल्मको कथाबारे निर्देशक फिडेलले भने, ‘नेपालीहरु वैदेशिक रोजगारमा जाने बढ्दो आप्रवासी परम्परा र त्यसले अबको समाजलाई कता लैजान्छ भन्ने कुरालाई हामीले यसको कथा बनाएका छौं । फिल्मको कथा यस्तो छ भन्नु भन्दा पनि द रेड सुटकेश हेरेपछि यो त हाम्रो वरपरको कथा हो भनेर दर्शकहरुले भन्नु हुनेछ ।’

अहिलेको आम व्यावसायिक फर्मुलामा बनेका फिल्म भन्दा केही फरक रुपमा द रेड सुुटकेश आफूले निर्माण गरेको पनि निर्देशक फिडेलले जिकिर गरे । अन्तर्राष्ट्रिय फिल्म महोत्सबहरुमा महत्वका साथ प्रदर्शन भईसकेको यो फिल्मलाई हेरेर दर्शकहरुले फरक फरक धारणा बनाउने फिडेलको विश्वास छ,‘जसरी एउटा पेन्टिङ हेरेपछि व्यक्ति अनुसार फरक फरक धारणा बनाउँछन् । यस्तै हाम्रो यो फिल्म हेरेपछि पनि दर्शकले आ आफ्नो धारणा बनाउनु हुनेछ ।’ यसले अहिलेका सिनेमा हेरेका दर्शकलाई फरक स्वाद दिने भनाई पनि यी निर्देशकको छ,‘मेरो फिल्म एकदमै फरक र साह्रो राम्रो छ भनेर म दाबी गर्दिन । तर हेरेपछि यहाँहरुले केही फरक सिनेमा हेरेको प्रतिक्रिया पक्कै दिनु हुनेछ ।’ 

गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको यो चलिचत्रले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । फिल्मले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो ।

त्यसयता फिल्म संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको पनि निर्देशक फिडेल देवकोटाले बताए । उनका अनुसार स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा उनलाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो । फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको थियो । केही फरक शैलीको भएकै कारण यसरी विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा अवार्ड जितेको पनि उनले बताए ।