तनहुँमा प्रदेशस्तरीय क्रिकेट मैदान बनाइने
दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गणपतिस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानलाई प्रदेशस्तरीय क्रिकेट मैदान बनाइने भएको छ । प्रदेश सरकारको यही चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुक्लागण्डकीमा प्रदेशस्तरीय क्रिकेट मैदान बनाउने निर्णय गरेको हो ।
त्यसका लागि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमार्फत रु ४० लाख बजेट विनियोजन भएको पत्र नगरपालिकालाई प्राप्त भएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । पण्डितले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेबमोजिम रु ४० लाख बजेट विनियोजन भएको औपचारिक पत्र नगरपालिकालाई आएको छ, क्रिकेट मैदान निर्माणका लागि प्रदेश सरकारसँग साझेदारी गर्न तयार रहेका छौँ ।’
नगरपालिकाले उक्त मैदानलाई नगर रङ्गशालाको अवधारणाअनुसार आर्थिक वर्ष २०८०÷८१ को नगरसभाबाट रु ८० लाख बजेट विनियोजन गरेको पण्डितले बताए ।
प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले क्रिकेट खेलमैदान निर्माणका लागि सम्झौता गर्न आउन नगरपालिकालाई परिपत्र गरेको छ । आगामी वैशाख १५ गतेभित्र आर्थिक वर्ष २०८०÷८१ को नगरसभाबाट रु ८० लाख विनियोजन भएको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष २०८१÷८२ मा सो खेलमैदानका लागि नगरसभाबाट बजेट सुनिश्चितता गरिने प्रतिबद्धतापत्र, खेलमैदानको विस्तृत स्वीकृत लागत अनुमान, नक्साको प्रतिलिपिसहित सम्झौताका लागि आग्रह गरिएको मन्त्रालयका उपसचिव प्रकाश देवकोटाले जानकारी दिए ।
शुक्लागण्डकीमा प्रदेशस्तरीय क्रिकेट खेलमैदान निर्माण हुनु सकारात्मक रहेको तनहुँ क्रिकेट सङ्घका अध्यक्ष मदन तिमिल्सिनाले बताए । जिल्लामा क्रिकेट खेलतर्फ आकर्षण भए पनि पूर्वाधार नहुँदा समस्या भइरहेको उनको भनाइ छ ।
उनले भने, ‘जिल्लामा क्रिकेटका गतिविधि बिस्तारै बढ्दैछन्, यसतर्फ खेलाडी आकर्षित भइरहेका छन् तर मैदान नहुँदा प्रतियोगिता गर्न समस्या भइरहेको छ ।’ राम्रो खेलमैदान निर्माण गर्न सकिए क्रिकेटको विकासमा टेवा पुग्ने उनको भनाइ छ । क्रिकेट खेलतर्फ आकर्षण बढे पनि जिल्लामा क्रिकेटको पूर्वाधार नहुँदा खेलाडी निराश छन् । खेलमैदान नहुँदा खेलाडीले खेल प्रस्फुटन गर्ने अवसर नपाएको क्रिकेटप्रेमी कविराज श्रेष्ठको भनाइ छ ।
आजको राशिफलः २०८२ साउन १५ गते बिहिवार
आजको राशिफलः २०८२ असार २६ गते बिहिवार
विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध
आजको राशिफल: २०८२ असार १६ गते साेमवार
काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवाल पक्राउ
आजको राशिफल: २०८२ असार १ गते आईतवार
भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ
प्रतिक्रिया