कालिका परिसरमा रोपियो ५०१ रुद्राक्ष
बागलुङ । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर परिसरमा ५०१ रुद्राक्षका बिरुवा रोपिएको छ । लुम्बिनी विश्वशान्ति मञ्चको सहयोगमा कालिका मन्दिर परिसरमा रुद्राक्षका बिरुवा रोपिएको हो ।
रुद्राक्ष रोप्नका लागि लुम्बिनी विश्वशान्ति मञ्चले रु १० लाख सहयोग गरेको अध्यक्ष वासु गौतमले जानकारी दिए । कालिका मन्दिर परिसर रुद्राक्षका उपयुक्त भएको हुँदा बिरुवा लिएर लगाइएको उनको भनाइ छ । गौतमले रुद्राक्षले धार्मिक महत्व बोकेको हुँदा कालिका परिसरमा रोपेको बताए ।
उनले भने, ‘कालिका मन्दिरले ठूलो धार्मिक महत्व बोकेको छ, मन्दिरको वरपर प्रसस्त जग्गा रहेको हुँदा यहाँ रुद्राक्ष लगाइएको हो, यसले धार्मिक पर्यटनसँग महत्व राख्ने भएको हुँदा अहिले पाँच सयभन्दा बढी रुद्राक्षका बिरुवा रोपिएको छ, यसले पर्यावरणलाई पनि सन्तुलन राख्ने अपेक्षा लिएका छौँ ।’
बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले कालिका मन्दिर देशकै महत्वपूर्ण धार्मिक पर्यटकीयस्थल रहेको हुँदा यस क्षेत्रमा रुद्राक्ष रोप्नु अति उपयोगी हुने बताए । धार्मिक संस्कृतिसँग जोडिएको रुद्राक्षले बागलुङ कालिकाको झनै गरिमा बढ्ने उनको भनाइ छ । रुद्राक्षले फल दिन थालेपछि यहाँ आउने दर्शनार्थीका लागि थप आकर्षिण बन्ने श्रेष्ठले बताए । यसले धार्मिकसँगै मन्दिरको थप नयाँ पहिचाहन बनाउने उनको भनाइ छ ।
प्रतिक्रिया