पहारीको नेतृत्वमा पोखरा पर्यटन परिषद्को नयाँ कार्यसमिति
गण्डकी । पोखरा पर्यटन परिषद्मा तारानाथ पहारी नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।
बुधबार पोखरामा सम्पन्न परिषद्को २४औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनले गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष पहारीको नेतृत्वमा कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमिति सदस्यमा हरि भुजेल, चौबहादुर गुरुङ, बाबुराम पाण्डे, निम मगर, जीवन सापकोटा र नारायण सुवेदी रहनुुभएको छ । कार्यसमितिका पदाधिकारीसहित थप तीन जना सदस्यपछि चयन गरिने जनाइएको छ ।
परिषद्मा होटेल सङ्घ, रेष्टुुरेण्ट एण्ड बार एशोसिएशन (रेवान), नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) लगायत १४ वटा पर्यटन सम्बद्ध सङ्घ संस्था आवद्ध छन् । साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्र्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले पोखरामा पर्यटनको बसाइँ लम्ब्याउन जल पर्यटनका विविध गतिविधिलाई अघि बढाउनुुपर्ने आवश्यकता औल्याए ।
परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशमा पर्यटन सचिव कुमानसिंह गुुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, परिषद्का उपाध्यक्ष कृष्णप्रसाद भण्डारी, महासचिव सञ्जयकान्त सिग्देललगायतले पोखरासहित समग्र गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन भएको बताए ।
नव निर्वाचित अध्यक्ष पहारीले पोखरा पर्यटन राजधानी घोषणा भइसकेकाले यसको औचित्य स्थापित गर्ने गरी पर्यटन क्षेत्रको समग्र विकासमा लाग्नुपर्ने र यसमा नयाँ कार्यसमिति थप क्रियाशील बन्ने बताए ।
पोखरा जोडिने सडक सञ्जालको निर्माण कार्यलाई तीव्र रूपमा सम्पन्न गराउने पहलसँगै यहाँस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुुरू गराउने जस्ता गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाउन दबाब बढाउन लाग्ने उनको प्रतिबद्धता थियो ।
प्रतिक्रिया