रुपाताल किनारमा २४ करोड लागतमा बन्यो पक्की सडक

कास्की । जिल्लाको तेस्रो ठूलो रुपातालको किनार हुँदै सात किलोमिटर आठ सय मिटर पक्की सडक निर्माण गरिएको छ । रुपातालको किनार हुँदै अस्फाल्ट प्रविधिबाट पक्की सडक निर्माण गरिएको हो । तालको किनारैकिनार बनेको सडकले तालमा पर्यटक आगमन वृद्धि भएको बताइन्छ ।

साविकको रूपाताल एकीकृत संरक्षण परियोजनाले रु २४ करोड ३५ लाख लागतमा रुपा गाउँपालिकाको खोला छेउबाट तालबेँसीसम्म तालको देब्रे किनारमा सडक निर्माणका लागि २०७८ साल असार २३ गते डुकुचु कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरेको थियो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङले सम्झौताअनुसार सडक निर्माणको सम्पूर्ण काम सकिएको जानकारी दिए । उनका अनुसार नालाबाहेक साढे पाँच मिटर फराकिलो सडक निर्माण भएको छ । ‘सम्झौताको मितिले ३० महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने भए पनि सुरुमा बजेट अभावमा काममा ढिलाइ भएको थियो । अहिले सम्झौताअनुसारको सबै काम सम्पन्न भएर निर्माण कम्पनीलाई अन्तिम बिल भुक्तानीसमेत गरिसकेका छौँ ।’

सम्झौताअनुसार अन्तिम बिल भुक्तानीको १३ महिनाभित्रमा सडकका कुनै संरचनामा क्षति पुगेमा निर्माण कम्पनीले नै बनाउनुपर्ने उल्लेख छ । विसं २०५९ मा सो सडकको ट्रयाक खोलिएको हो । रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारीले आफ्नै लगानीमा सडक निर्माण सुरु गरेको थियो । 

सडक निर्माणसँगै स्थानीयवासीलाई सहज भएको छ । बेगनासतालबाट सुन्दरीडाँडा, तालबेँसी हुँदै लमजुङको भोर्लेटार जाने हालको सडक साँघुरो र जीर्ण भएको अवस्थामा रुपातालको किनार हुँदै बनेको यो सडक वैकिल्पक सडकका रूपमा प्रयोगमा आइसकेको स्थानीयवासी विश्वराज पौडेलले बताए ।

रुपा गाउँपालिकाका थुम्की, तालबेँसी, हंशपुर तथा सौरवासलगायत क्षेत्रका स्थानीयवासीलाई समेत सडक निर्माणले सहज भएको छ । ‘सडक निर्माणले हामीलाई धेरै सजिलो बनाएको छ । यसबाट तालको महत्व बढ्ने र पर्यटक आगमन वृद्धि भएको छ’, पौडेलले भने । रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविकको लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भाग तालले छोएको छ ।