भेरी अस्पतालमा ‘अनलाइन टिकट सेवा’ सुरु
खजुरा (बाँके) । नेपालगन्जस्थित भेरी अस्पतालमा अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था सुरु भएको छ । अस्पतालमा सयौँको सङ्ख्यामा बिरामी सेवाग्राहीको घण्टौँसम्म लाइन लाग्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्नका लागि अस्पतालले अनलाइन टिकट सेवाको सुरुआत गरेको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए ।
‘अस्पतालको ओपिडीमा दैनिक एक हजारभन्दा बढी विरामीहरु सेवा लिन आउने गर्नुहुन्छ, उहाँहरू टिकट लिनका लागि ठेलमठेल गर्नुपर्ने बाध्यता छ’, थापाले भने, ‘घण्टौँसम्मको लाइन लाग्ने बाध्यतालाई न्यूनीकरण गरेर सेवाग्राहीलाई सुविधा प्रदान गर्नका लागि अनलाइन टिकेट सेवा सुरुआत गरेका छौँ ।’
थापाका अनुसार सेवाग्राहीले चेकजाँच गराउन चाहेको रोगको उपचारका लागि सम्बन्धित रोगसहितका विभाग र कोठा नम्बरसमेत वेबसाइटमा राखिएको छ । वेबसाइटमा गइसकेपछि सेवाग्राहीले आवश्यक जानकारीसहितको फाराम भर्नुपर्नेछ । सेवाग्राहीले फाराम भरिसकेपछि सेवा शुल्क बापत रु ३० अनलाइनबाटै बुझाउनुपर्ने र आफूले चाहेको मिति र समयमा टिकट बुक गर्न पाउनेछन् ।
सेवा शुल्क बुझाइसकेपछि एउटा टोकन नम्बर अनलाइनबाटै पाइने र सो टोकनलाई अस्पतालमा लगेर देखाएपछि तत्काल सेवा पाउने व्यवस्था गरिएको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए ।
उनका अनुसार अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र समयसापेक्ष प्रविधिको प्रयोग गरी नागरिकको सहज र सरल पहुँचमा ल्याउनका लागि थप सुविधाहरू विस्तार गर्दै लगिएको छ ।
प्रतिक्रिया