पोखराबाट अग्निदहनको प्रचारप्रसार सुरु (तस्वीरहरु)

काठमाडौं । आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘अग्निदहन’ ले पोखराबाट प्रचारप्रसार शुरु गरेको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण पक्षले फिल्मको प्रचारप्रसार सुरु भएको जानकारी दिएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको फिल्म ६ वर्ष अघि निर्माण भएको हो ।

फिल्मका प्रस्तुतकर्ता मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोभिदशरण उपाध्यायले कार्यक्रमको शिलशिलामा आफु धादिङ पुग्दा बोक्सीका नाम गरिएको कुकृत्यलाई देखेर सामाजिक चेतना फैलाउन सिनेमा निर्माण गरिएको बताए । उनले सुरुमा पुस्तक र त्यसपछि गीत निर्माण गरेर फिल्म बनाएको बताए । उनले फिल्म देशका ५ सय भन्दा बढी ठाउँमा पुगेर प्रदर्शन समेत गरिएको जानकारी दिए । 

फिल्म भोजपुरी र मैथली भाषामा समेत डब भएको छ । अब हिन्दी भाषामा डब हुन लागेको उनले बताए । निर्देशक घनश्याम लामिछानेले फिल्म मनोरञ्जनात्मक नभई सामाजिक चेतना प्रवाह गर्ने भएको बताए । ९० मिनेटको फिल्मले दर्शकलाई सन्देश दिने उनको दाबी थियो ।

कलाकार प्रकाश घिमिरेले समाजलाई सन्देश प्रवाह गर्ने फिल्मअभिनयका लागि रोजाईमा पर्ने बताए । अर्का कलाकार माओत्से गुरुङले फिल्ममा आफूले अन्धविश्वासलाई प्रशय दिने खालको भूमिका निर्वाह गरेको बताए । 
कलाकार प्रमिला तुलाचन सिनेमामा बोक्सीका रुपमा प्रस्तुत भएकी छिन् । कलाकार तुलसी क्षेत्री लोकदोहोरी क्षेत्रबाट अभिनयमा आएकी हुन् । 

लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित भएर बनेको फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङ, उर्मिला पौडेल, प्रश्निा आचार्य, माधवशरण पौडेल लगायतको अभिनय छ । फिल्मका संरक्षक मोहनराज पौडेल हुन् ।