अमेरिकन फिल्म मार्केटमा निशान
काठमाडौं । अमेरिकाको लस भेगासस्थित पाम क्यासिनो रिसोर्टमा गत नोभेम्बर ५ देखि १० सम्म भएको ‘अमेरिकन फिल्म मार्केट’को ४५ औं संस्करणमा नेपाली फिल्म तथा म्युजिक भिडियो निर्देशक निशान घिमिरे सहभागी भएका छन् ।
विश्वका ८० भन्दा धेरै देशका सय बढी वक्ताहरुले फिल्मका आर्थिक पाटोदेखि लिएर, उत्पादन, वितरण, प्रविधि, एआई, फिल्म स्ट्रिमिङ, स्टोरी टेलिङ आदि विषयहरुमा मन्तव्य दिएको कार्यक्रममा घिमिरेले पनि आफ्नो मन्तव्इ राखेका थिए । विश्वभरबाट ६००० भन्दा धेरै सफल फिल्म निर्माता, निर्देशक, सिनेमाटोग्राफर, सम्पादक, फिल्मकर्मी, वितरक, प्रदर्शकलगायत उच्च चलचित्र अधिकारीहरूको सहभागिता थियो ।
यस मेलामा गत वर्ष एक अर्ब अमेरिकी डलरभन्दा बढिको निर्यात लाइसेन्स सम्झौतामा हस्ताक्षर भएको थियो र यस वर्ष अझ वृद्धि भएको अमेरिकन फिल्म मार्केटटका सिईओ जिन प्रिवेटले बताए ।
निशान आफ्नो कम्पनी राड स्टुडियो र नेपाली फिल्म क्षेत्रलाई प्रतिनिधित्व गर्दै सो मेलामा सहभागिता जनाएका थिए । घिमिरले यस बिचमा इटालियन आर्ट भिडियो, नभडा फिल्म, बृटिस भर्जिन आइल्याण्ड फिल्म कमिसन, अउल्ला फिल्म साउदी अरब, टोकियो फिल्म कमिसन जापान, वेस्ट भर्जिनियाँ इकोनोमिक डेभलपमेन्ट, पोलिस फिल्म, हलिउड फिल्मका मेकरहरू, बलिउड फिल्मका मेकरहरू, टर्किस फिल्म तथा चाइिनज फिल्मका मेकरहरू लगायत अरू थुप्रै फिल्ममेकरहरू भेटेका निशान सो भेटमा नेपाली फिल्मको कथाबस्तु, टेक्नोलोजी र छायांकनस्थलको बारेमा कुरा भएको र चासो दिएको बताएका छन् ।
उनले अमेरिकी फिल्म माकेर्टमा संगालेको अनुभवलाई आगामी प्रोजेक्टहरुमा उतार्ने सोचमा रहेको पनि बताएका छन् । ‘नेपाली चलचित्र क्षेत्रलाई विश्वका अन्य देशका चलचित्र उद्योगसँग सहकार्य गर्न र अनुभव साटासाट गर्न तथा नयाँ प्रविधिहरूसँग परिचित गराउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ । विश्व चलचित्र उद्योगमा नेपाली चलचित्रको अन्तर्राष्ट्रिय रूपमै बजारिकरण गर्न समेत महत्वपूर्ण भूमिका प्रदान गर्नेमा म ढुक्क छु’, उनले भने ।
निशानले गत वर्ष पनि बेलायतको लन्डनमा भएको ‘फोकस २०२३ मिट दी मेकर्स’ सम्मेलनमा सहभागी भएर आफ्नो प्रस्तुती दिएका थिए । दुई दशकभन्दा बढी समय नेपाली चलचित्र तथा म्यूजिक भिडियो सम्पादन क्षेत्रमा काम गरेका निशान नेपाली म्यूजिक भिडियो तथा फिल्मका सर्वाधिक सफल सम्पादक हुन् ।
प्रतिक्रिया