पौडेलद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा

अाफ्नो २७ अौँ जन्मदिनको अबसरमा अाफ्नो डेढ दशक लामो दलगत राजनैतिक यात्रा परित्याग गर्दै अागामी २०८४ को स्थानीय तहको निर्वाचनमा अन्नपूर्ण गाउँपालिका वडा नं, ४ निवासी नवराज पौडेलले अन्नपूर्ण गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

पौडेल यसअघिको स्थानीय तह निर्वाचमा गाउँपालिका अध्यक्षमा पराजित भएका थिए।

१५ बर्षे उमेरदेखि राजनीतिक यात्रा सुरु गरेका पौडेल यसअघि माअोबादी भदौरेतामागी गाबिस अध्यक्ष, जिल्ला सदस्य हुँदै नयाँ शक्ति नेपाल समाजवादी पार्टी गण्डकी प्रदेश सदस्य र नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय सचिव समेत बनिसकेका छन्।

पञ्चासे क्षेत्रमा पर्यापर्यटन प्रबर्द्धन , जैबिक बिबिधता संरक्षण र बन वातावरण र पर्यावरण अध्ययन अनुसन्धान लगायत गतिविधिमा सक्रिय पौडेलले धेरै सामाजिक संघसंस्थाको नेतृत्व परि गरिसकेका छन्।

दलगत राजनीति गर्नेहरुलाई मनोनयन दर्ताको विहानसम्म पनि टिकट कस्ले पाउँछ भन्ने थाहा हुँदैन तर हामीलाई अाजैदेखि जनताको घरदैलोमा जाने सुबिधा छ तसर्थ जनमत बुझ्न र जनताका समस्या बुझ्न अाजैदेखि जनताको घरदैलोमा जाने तयारी गरेको पौडेलले बताए।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रमूख पर्यटकीय गन्तव्यहरु अन्नपूर्ण बेसक्याम्प , उल्लेरी घोरेपानी क्षेत्र, घान्द्रुक, अष्ट्रेलियन बेसक्याम्प लान्द्रुक, तोल्का लगायत क्षेत्रहरुलाई संसारमै प्रसिद्ध पर्यापर्यटन हबका रुपमा विकास गर्दै संसारकै प्रसिद्धि पदयात्रा गन्तब्यका रुपमा विकास गर्ने अाफ्नो प्रमुख योजना रहेको पौडेलले बताए।

 

दलीय राजनीतिका कारण वडा र टोल तहसम्म दलीय सिन्डिकेट र भागबन्डा छ, त्यस्लाई तोड्न पनि हामी चौथो पुस्ताले प्रयत्न गर्नैपर्छ पौडेलको भनाइँ छ।

अर्थशास्त्रका विद्यार्थी पौडेलले अन्नपूर्ण गाउँपालिकालाई कृषि र पर्यापर्यटन उद्धमका माध्यमबाट समृद्ध गाउँपालिका बनाउन सक्ने अठोटका साथ अाफू अगाडि बढेको बताएका छन्।